काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने गरी छलफल तीब्र पारेको छ । गए राति अबेरसम्म बसेको नेकपा (एमाले) र नेपाली कांग्रेसका नेताहरूबीचको बैठकमा अध्यादेश ल्याउने विषयमा सहमति जुटेको बालुवाटार स्रोत बताउँछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउन गरेको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति जनाएको स्रोतको दावी छ । विशेष गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई विभाजन गर्ने गरी अध्यादेश ल्याउन तयारी गरिएको हो । प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन् । तीमध्ये असन्तुष्ट कम्तिमा पाँच जना सांसद एमालेमा जान तयार छन् ।
अध्यादेश ल्याउने विषयमा निकै अगाडिदेखि छलफल भए पनि आइतबार राति मात्रै कांग्रेस सभापति देउवा सहमत भएका हुन् । अध्यादेश ल्याउने खबर सुनेपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले त्यसबारेमा बुझ्न कानुनविद् गोविन्द बन्दीलाई शुक्रबार देउवालाई भेट्न पठाएका थिए । भेटमा देउवाले आफू ओलीलाई चिढ्याउने पक्षमा नरहेको जवाफ दिएको स्रोतको भनाइ छ ।
गए राति सुरूमा देउवा र ओलीका बीचमा मात्रै छलफल भएको थियो । त्यसपछि एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा देउवा, कांग्रेस महामन्त्री गगन थापा, उपमहासचिव विष्णु रिमाल लगायतका नेताहरू बैठकमा सहभागी भएका थिए । प्रधानमन्त्री ओलीले आजैका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार अपराह्न ५ बजे बस्ने बैठकको एजेण्डा बताइएको छैन । ‘अध्यादेश ल्याउने विषयमा कुराकानी भएको हो, तर आजैको बैठकमा आउँछ या आउँदैन यसै भन्न सकिँदैन’, एक मन्त्रीले भने ।
समाजवादी विभाजन गर्न दलसम्बन्धी ऐनको दफा ३३ (३) बाधक हुँदै आएको छ ।विभाजन भएर बनेको दल पाँच वर्ष पुनः विभाजन हुन पाउने व्यवस्था छ। दफा ३३ (३) मा भनिएको छ, ‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि उपदफा (२) बमोजिम गठन भएको दल आयोगबाट मान्यता प्राप्त गरेको मितिबाट पाँच वर्षसम्म त्यस्तो दलबाट छुट्टिई अर्को दल गठन हुन सक्ने छैन ।’
प्रकाशित मिति: २०२४-१०-२१ , समय : १४:४३:१९ , २ महिना अगाडि