बर्जु १३ असोज । मनसुनी वर्षासँगै आएको बाढी र पहिरोको कारण आज बेलुका सम्मको तथ्यांकअनुसार देशभर १ सय ३२ जनाको मृत्यु भइसकेको छ । अझै ५५ जना अझै वेपत्ता रहेका छन् ।
काठमाडौं उपत्यकामा १९५ घर ८ वटा पुलमा क्षति पुगेको छ भने १५ जना घाइते छन । तर उपत्यकाको विपद पूर्वतयारी र विपदपछिको उद्धार कार्य हेर्दा निकै फितलो मात्र देखिएन, पूर्वतयारीसमेत नभएको देखियो । यतिसम्म कि स्थानीयले नख्खु खोलाले बगाएका ३ जनाको पानीमा पौडिएर उद्धार गरिसक्दा पनि गृहमन्त्री रमेश लेखक भने भिजिविलिटी नभएका कारण हेलिकोप्टरमार्फत उद्धार गर्न नसकिएको र बाढीमा फसेकोका उद्धार गर्न नसकि ज्यान गुमाएको बताइरहेका थिए ।
यो प्रकरणले संघीय सरकार उद्धारमा मात्र होइन, सूचनामा समेत समयमा पहुँच राख्दैन भन्ने पुष्टि गरेको छ । विपदका लागि पूर्वतयारी र उद्धार तथा राहतमा प्रचलित काननुले स्थानीय तहलाई अधिकार सुम्पिएको छ । तर स्थानीय सरकारसँग विपतमा खट्न अहिलेसम्म बेग्लै तालिमप्राप्त सुरक्षा दस्तासमेत छैन ।
बर्जुमा पनि केशलिया खोला, टेङग्रा खोला र बुढी खोलाले वर्षाको समयमा वितण्डा मचाउने गरेकोछ । स्थानीय सरकारले विपद पछि दिइने राहतको कार्य गर्दै आइरहेको छ । तर पछिल्लो दुई दिनको अविरल वर्षाले देखाएको असरले बर्जु गाउँपालिकाले भविष्यमा हुन सक्ने विपदको लागि प्रत्येक वडामा कम्तिमा एउटा डुंगा किनेर राख्नु पर्ने देखिएको छ ।
बर्जु गाउँपालिकाले यसवर्ष नगर प्रहरीको भर्ना गर्ने प्रक्रिया अगाडि बढाएको छ । यदी नगर प्रहरी भर्ना भए भने सबै भन्दा पहिला विपतमा कसरी उद्धार गर्ने भन्ने तालिम दिनुपर्ने, उद्धारका लागि आवश्यक उपकरण खरिद गरेर तयारी र चालु अवस्थामा राख्नुपर्ने अवस्था देखिएको छ ।
प्रकाशित मिति: २०२४-०९-२९ , समय : १८:२२:२७ , ३ महिना अगाडि