पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण

पाँचथर । गयाङवरक गाउँपालिकाले बीचगाउँमा बहुउद्देश्यीय कभर्डहल निर्माण गरेको छ । पालिकाले सङ्घीय र कोशी प्रदेश सरकारसँगको लागत साझेदारीमा चार करोड ३५ लाखमा गाउँपालिकाको वडा नं ५ याङसिबुङमा कभर्डहल निर्माण गरेको हो ।नवनिर्मित कभर्डहलको बिहीबार गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्याले उद्घाटन गर्दै खेलाडीलाई अभ्यास गर्न सहज हुने बताए ।

ब्याडमिन्टन, भलिबल तथा मार्सलआर्टका तेक्वान्दो, कराते, उसु, कबड्डीलगायत खेल सञ्चालन गर्न अन्यत्र जानुनपर्ने उनले बताए ।ब्याडमिन्टनको विकासमा नियमित प्रशिक्षणको व्यवस्था गर्न कभर्डहल उपयोगी हुने जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष तेजबहादुर तुम्बापोले बताए ।संरचनाका कारण युवा खेलकुदतर्फ आकर्षित हुँदा कुलतमा फस्ने सम्भावना कम हुने, खेलकुद तथा खेल पर्यटनको विकासमा मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।

कभर्डहलका लागि सात रोपनी जग्गा पृथीबहादुर योङहाङ, बमप्रसाद योङहाङ र चन्द्रकिशोर योङहाङको परिवारले दान गर्नुभएको हो ।उनीहरूलाई पालिकाले सम्मान गरेको छ । संविधान दिवसको अवसर पारेर उद्घाटन भएको कभर्डहलमा बिहीबारदेखि ब्याडमिन्टन प्रतियोगिता प्रारम्भ भएको छ । प्रतियोगितामा ९७ टोली सहभागी छन् । रासस

प्रकाशित मिति: २०२४-०९-२१ , समय : ०७:०९:२९ , ३ महिना अगाडि