काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतले बुझाए प्रगति प्रतिवेदन, सरुवा भएका परियारको बिदाइ

काठमाडौं महानगरपालिकाबाट सरुवा भएर जानुभएका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले शुक्रबार प्रमुख बालेन्द्र शाह (बालेन) लाई ‘प्रमुख प्रशासकीय अधिकृतको प्रगति प्रतिवेदन’ बुझाएका छन् ।

आफ्नो कार्यकाल ७ महिना २५ दिनमा भए गरेका महत्वपूर्ण कामको विवरण प्रतिवेदनमा समावेश गरिएका छन् । सरुवा भएर जाँदा आफूसँग भएका अभिलेख तथा संस्थागत सूचना र सम्पन्न कामको अभिलेखन हस्तान्तरण प्रणाली थालनी गर्दै संस्थागत सुदृढीकरणमा सहयोग हुने अपेक्षा राखेर उनले प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन ग्रहण गरिसकेपछि प्रमुख शाहले प्रमुख प्रशासकीय अधिकृत परियारका कामको प्रशंशा गर्दै मायाको चिनो प्रदान गरेका थिए ।

नेपाल सरकार, मन्त्री परिषदको भदौ २७ गतेको निर्णयअनुसार परियार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएर गएका छन् । भदौ ३० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको पत्र पठाएको थियो ।

प्रकाशित मिति: २०२४-०९-२१ , समय : ०६:३८:३६ , ३ महिना अगाडि