रंगेली नगरपालिकाका कर्मचारीमाथि कुटपिट, पेशागत महासंघद्वारा विरोध

विराटनगर । मोरङको रंगेलीमा कर्मचारीमाथि कुटपिट भएपछि कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसँग सुरक्षाको माग गरेका छन् ।
आन्दोलनका नाममा कर्मचारीमाथि आक्रमण हुन थालेको भन्दै उनीहरुले सुरक्षाको माग गरेका हुन् । यस्तै कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग समेत गरिएको छ । दोषिमाथि कारबाही नभए जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने कर्मचारीहरुले बताए ।

कार्यस्थलमा काम गर्ने वातावरण नभएको भन्दै सुरक्षाको माग गरेर उनीहरुले आइतबार प्रजिअ भट्टराईलाई ज्ञापन पत्र बुझाएका हुन् । पेसागत महासंघ मोरङका अध्यक्ष प्रकाश शर्मा र सचिव सालीग्राम कोइरालाको हस्ताक्षर रहेको ज्ञापन पत्रमा दोषीमाथि कारबाही नभए जस्तोसुकै आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ । आन्दोलनबाट उत्पन्न परिस्थितिको जिम्मेवार सरोकारवाला नै हुने अवगत गराइएको छ ।

रंगेली नगरपालिकाले भूमि तथा मालपोत कर वृद्धि गरेको विरोधमा नेपाली कांग्रेसको अगुवाइमा आन्दोलन भइरहेको छ । गत शुक्रबार आन्दोलनकारीले नगरपालिकाका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।

त्यस क्रममा कर्मचारीमाथि कुटपिट, दुर्व्यवहार र हातपातसमेत भएको थियो । सहायक पाँचौं सुधीर चौधरीलाई सेवा प्रवाहका लागि कार्यालय प्रवेश गर्ने क्रममा केही व्यक्तिहरुले गुन्डागर्दी शैलीमा आक्रमण र कुटपिट गरेको ज्ञापन पत्रमा उल्लेख छ । घटनाप्रति ध्यानआकर्षण भएको भन्दै महासंघले विरोध जनाएको हो । ज्ञापन पत्रमा भनिएको छ, ‘इमान्दार र कर्तव्यनिष्ट कर्मचारीलाई जिम्मेवार दलका कार्यकर्ता तथा दलको संलग्नता देखिने गरी घटाइएको घटना आफैंमा निन्दनीय र अशोभनीय छ ।’

यस्ता घटनाले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल कमजोर भइ सेवा प्रवाहमा गम्भीर असर पर्ने ठहर गर्दै महासंघले पेसाकर्मीको कार्यस्थलको सुरक्षाको प्रत्याभूति गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सुरक्षा निकायलगायतका सरोकारवालासँग माग गरेको छ । रंगेलीमा भएको घटनामा संलग्नलाई तत्काल नियन्त्रणमा लिएर कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गरिएको अध्यक्ष शर्माले बताए ।

प्रजिअ भट्टराईले सरोकारवालासँग छलफल गरेर घटनामा संलग्नलाई कारबाही गर्ने आश्वासन दिएका छन् । राष्ट्रसेवक कर्मचारीलाई अन्याय हुन नदिने उनको प्रतिबद्धता छ ।

प्रकाशित मिति: २०२४-०९-१६ , समय : ०७:२२:१६ , ३ महिना अगाडि