विराटनगर । भदौ २७ गतेदेखि मोरङको कटहरीमा सुरु हुने कृषि एक्स्पोको तयारी तीव्र पारिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले १ करोड रुपैयाँ खर्चेर कृषि एक्स्पोको आयोजना गर्न लागेको हो ।
भदौ २७ देखि ३० गतेसम्म सञ्चालन हुने कृषि एक्स्पो २०८१ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । कृषि क्षेत्रमा प्रयोग हुने घरेलु औजारदेखि मल र बीउ छर्न प्रयोग हुने अत्याधुनिक ड्रोनसम्म प्रदर्शनीमा राखिने छ। नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी कृषि एक्स्पोमा परम्परागत देखि अत्याधुनिक कृषि प्रविधिहरू प्रदर्शनीमा राखिने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले एक्पोमा अत्याधुनिक प्रविधिहरू र परम्परागत प्रयोग गरिने कृषि सामाग्रीहरू प्रदर्शनीमा राखिने जानकारी दिनुभयो ।
अध्यक्ष राउतले नेपाल र भारतका १५ जना कृषि विशेषज्ञले कृषि एक्स्पोमा सहभागिता जनाउदै कृषि क्षेत्रलाई समय अनुकुल अगाडि बढाउने र किसानलाई फाइदा पुर्याउने विषयमा वृहत छलफल हुने जानकारी दिनुभयो।
एक्स्पो स्थल कटहरी थोक बजारमा ५ वटा ब्लक छुट्याइएको छ । जसमा ए मा ब्लकमा पशुपन्छी, बि ब्लकमा कृषि, सि ब्लकमा मेसिनरी, डि ब्लकमा फुड स्टल र इ ब्लकमा गोष्ठी तथा परामर्श सेवाका कार्यक्रम सञ्चालन हुनेछ । एक्स्पोमा भारतका २० गरी १ सय ३० भन्दा बढि स्टल रहने छ । एक्स्पो अवधि भर कृषि, पशुपन्छी, कष्टम, हाइरिंग, क्लाइमेट चेन्ज, जैविक मल तथा विषादी बनाउने र प्रयोग विधि लगायतका विषयमा नेपाल र भारतका कृषि विज्ञहरुबाट संवाद तथा छलफल कार्यक्रम सञ्चालन हुनेछ ।
नयाँ कृषि औजार, यन्त्र तथा प्रविधिको प्रदर्शनी, उन्नत जातका पशुपन्छी प्रदर्शनी, पर्यावरण–मैत्री ज्ञानशीप र प्रविधि, कृषि विज्ञसँग छलफल तथा सेमिनार कार्यक्रम एक्स्पोका मुख्य आकर्षण रहेका छन् । पहाडी जिल्लाका किसानलाई एक्स्पो स्थल विराटनगर ल्याउने र खान बस्न सहित पुनः घर फिर्ता पुर्याउने खर्च महासंघले व्यहोर्ने महासंघले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०९-११ , समय : ०७:४७:३० , ४ महिना अगाडि