राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरु जन्माउनुपर्ने बताएका छन्।शनिबार पार्टीको सिन्धुली–काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्यालले मुलुकलाई समृद्ध बनाउन हरेक वडामा रविहरू जन्मिनुपर्ने बताएका हुन्।
‘एकजना रविले यो देश बन्ने भएको भए उहाँ टेलिभिजनमा भएर कराउँदै गर्दा बन्थ्यो होला, बन्दैन । हामीले हाम्रो संविधान भित्रै बसेर ३६ हजार भन्दा बढी रविलाई जन्म दिनुपर्नेछ यो देशमा,’ उनले भने।उपसभापति अर्यालले बाजा बजेपछि गाउँलेहरूलाई जन्ती आएको थाहा हुनेजस्तै रास्वपा कसरी आउँछ भन्ने कुरा अरू दल र नेताहरूलाई मंसिर ४ र वैशाख १० ले देखाएको बताए।
‘यिनीहरु साँच्चै नै केही गर्न आएका रहेछन् । हामीले खाइरहेको, हामीले लिइरहेको भाग नै खोस्न आएका रहेछन् । यो देशको नागरिकलाई सूसुचित गर्न आएका रहेछन् भन्ने थाहा भयो,’ उनले भने।भ्रष्टाचारलाई पेसा बनाएर बसेकाहरू रास्वपाको आगमनबाट तर्सिएर रास्वपा नेतृत्वलाई लखेटेको अर्यालले बताए।
‘रास्वपाका नेताहरुले भ्रष्टाचार गर्यो भने भ्रष्टाचार गरेको हो भन्ने प्रमाणित हुनुपर्यो । प्रमाणित भएपछि हामीसँग कुनै बाटाहरु छैनन् जोगाउने । त्यो अन्तिम नै हो,’ उनले भने।जनतालाई केही दिन्छु भनेर आएको मान्छेले पार्टीभित्र पनि भ्रष्टाचार नगर्ने उनले बताए।रास्वपाका कुनै नेताले आफ्ना श्रीमति, आफ्ना दिदी, भाई, बहिनीलाई आफु नेता भएकाले पदमा पुर्याउने र सांसद बनाउने काम नगर्ने पनि उपसभापति अर्यालले बताए।
(न्युज एजेन्सी नेपालबाट)
प्रकाशित मिति: २०२४-०९-०७ , समय : १९:४७:३० , ४ महिना अगाडि