झापा । झापाको विर्तामोडमा रहेको बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले एमबिबिएस अध्यापनको लागि औपचारिक अनुमति पाएको छ । लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति दिएको हो ।
कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको जानकारी दिए । आयोगले शुक्रबार नै सिट निर्धारणबारेमा सार्वजनिक सूचना जारी गरिसकेको छ ।
विर्तामोड नगरपालिका ५ विर्तामोडमा एमबिबिएस अध्ययन गराउने उदेश्यसहित २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो ।
२०६४ सालमै मनसाय पत्र प्राप्त गरेर प्रालिले एमबीबीएसका विद्यार्थी पढाउनका लागि सम्पूर्ण पूर्वाधार स्थापना गरिसकेपछि पनि अध्यापनको स्वीकृति पाउन लामो अवधि कुर्नु परेको हो ।
प्रकाशित मिति: २०२४-०९-०७ , समय : १८:४६:४८ , ४ महिना अगाडि