विराटनगर, भाद्र १६ गते । कटहरी गाउँपालिका वडा नं. ४ का जगन रायले ७५ वर्ष देखि नेपाल सरकारको ऐलानी जग्गामा घर बसोवास गरी हकभोग गर्दै आएकोमा सो जग्गा विगहौ जग्गा भएको सामन्ती विराटनगर बस्ने सृजना कोईराला लगायतले आफ्नो नाममा दर्ता गरेपछि सुकुम्बासी राय अहिले विचल्लीमा परेको छ ।
रायले विराटनगरमा आज पत्रकार सम्मेलन गरी कटहरी गाउँपालिका साविक वडा नं. ७ हाल वडा नं. ४ को कित्ता नं. ७६ को क्षेत्रफल २६५ वर्गमिटर जग्गामा घर बसोवास गरी भोगचल गर्दै आएकोमा मेरो संधियारहरुले घुपचुप रुपमा आफ्नो नाममा दर्ता गरी मलाई विचल्ली बनाएको आरोप लगाए ।
रायले भने मसंग २०२४ सालमा तिरो तिरेको रसीद छ । उक्त जग्गामा मैले लगाएको विभिन्न जातका रुखहरु र घर छन् तर जग्गा अर्कैले आफ्नो नाममा दर्ता गराई सकेपछि अहिले विचल्लीमा परेको वताए ।
रायले बसोवास गरेको जग्गा हड्पनेमा ५० विगहाभन्दा बढी जग्गा भएकी संधियार कोइराला र अन्य दुई संधियार राजिन्दर कामत, रामप्रसाद कामतले घुपचुप रुपमा जग्गा आ–आफ्नो नाममा दर्ता गराई अहिले मैले लगाएको रुख विरुवा जबरजस्ती काटेर लाने, घर हटाउन कोईरालाले दवाव दिदै आएको छ ।
सुकुम्बासी रायले हकभोग गर्दै आएको कित्ता नं. ७६ को क्षेत्रफल २६५ वर्ग मिटर भएको जग्गालाई कित्ताकाट गरी कित्ता नं. १३४, १३५ र १३६ गरी ३ वटा कित्ता वनाएका छन् ।
जसमध्ये कित्ता नं. १३६ को क्षेत्रफल २४०.०० वर्गमिटर जग्गा विराटनगरकी सृजना कोईरालाले आफ्नो नामा भएको नम्बरी जग्गामा श्रेस्ता कायम गरेको छ भने कित्ता नं. १३४ को क्षेत्रफल ००२०.०० वर्गमिटर राजिन्दर कामत र कित्ता नं. ३५ क्षेत्रफल ००५.०० वर्गमिटर क्षेत्रफल रामप्रसाद कामतले च्यापेको रायले वताए ।
वर्षौ देखि रायले नेपाल सरकारको ऐलानी जग्गामा जीवन गुजारा गर्दै आएका थिए । अहिले त्यो जग्गा सामन्ती कोइराला समेतले गाउँपालिकाका जनप्रतिनीधि, कर्मचारी, मालपोत कार्यालय र नामी शाखाका कर्मचारीहरुलाई घुस खुवाएर रायले बसोवास गरेको ऐलानी जग्गालाई कित्ताकाट गराई सामन्तीहरुले आ–आफ्नो नाममा दर्ता गराएको प्रष्ट देखिएको छ ।
रायले आफुले हकभोग गरेको जग्गाको समस्या लिएर गाउँपालिकाका अध्यक्ष देवराज चौधरीसंग करा राख्दा अध्यक्षले कही गर्न नसक्ने जवाफ दिएको वताए ।
सुकुम्बासी रायले हकभोग गर्दै आएको जग्गा समान्तीहरुको नाम दर्ता हुनु भनेको गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, मालपोत र नापी कार्यालयका कर्मचारी लगायतले आर्थिक चलखेल गरी दर्ता गराएको आशंका गरिएको छ ।
न्यायको लागि जिल्ला प्रशासन कार्यालय, मालपोत र नापी शाखा कार्यालय भौतारिदै गरेको राय अव अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी गरेका छन् । अख्तितारले नै मलाई न्याय दिलाउने उनको भनाई छ ।
प्रकाशित मिति: २०२४-०९-०१ , समय : २०:३५:१७ , ४ महिना अगाडि