रथयात्रा तीन बजे निकाल्ने तयारी, मुख्यमन्त्री कार्कीको पहलमा हेलिकप्टर आउने पक्का

विराटनगर । विराटनगरमा एशियाकै दोश्रो ठुलो रथयात्रा भोलि (मंगलबार) दिउँसो निकाल्ने तयारी गरिएको छ । पोखरीयास्थित राधाकृष्ण मन्दिर परिसरबाट भोली दिउँसो ३ बजेपछि नगर परिक्रमाका लागि रथ प्रस्थान गर्नेछ ।

रथले महानगरको ९ किलोमिटर परिक्रमागर्न झण्डै ६ घण्टा समय लाग्ने अनुमान गरिएको छ । यात्राका क्रममा लाखौं श्रद्धालुले रथारुढ भगवान राधाकृष्णको दर्शन गर्नेछन । रथयात्राको मुख्य सारथी राधाकृष्ण मन्दिरका मुख्य पुजारी पण्डित भवानीशंकर निरौला हुनुहुन्छ ।

पछिल्लो समय खटलाई रथको अघिल्लतिर गाडीमा राखेर नगर परिक्रमा गराउने गरिएको छ । रथयात्रामा सहभागि हुँदा पुण्य लाभहुने धार्मिक शास्त्रहरुमा समेत उल्लेख छ । यही विश्वासको आधारमा रथ तान्न देशका विभिन्न स्थान तथा भारतका समेत विभिन्न राज्यबाट श्रद्धालुहरु आउने गरेको श्री लक्ष्मी नारायण मन्दिर विराटनगरका पीठाधीश स्वामी अच्यूत प्रपन्नाचार्यले बताउनुभयो ।

रथयात्रामा लाखौं श्रद्धालुको उपस्थिति रहने भएकाले आवश्यक सुरक्षाको ब्यवस्था मिलाईएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो । विभिन्न धर्मसम्प्रदायका मानिसहरुको उत्साहजनक सहभागिताले श्रीराधाकृष्ण रथयात्रा विराटनगरको सबभन्दा ठुलो सांस्कृतिक महापर्वकोरुपमा समेत स्थापित भएको छ । राधाकृष्ण रथयात्राको क्रममा हेलिकप्टरबाट पुष्पबृष्टि गरिने भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पहलबाट नेपाली सेनाको हेलिकप्टरले रथयात्राको क्रममा पुष्पाबृष्टि गर्ने भएको हो । यसपटकको रथयात्रा तयारीको शुरुआतबाटै हेलिकप्टर ल्याउने प्रयास गरिएको भएपनि आईतबारसम्मपनि सुनिश्चित हुन सकेको थिएन ।

यद्यपि अन्तिम समयमा सोमबार हेलिकप्टरले पुष्पबृष्टि गर्ने कुरा सुनिश्चित भएको रथयात्रा आयोजक समितिका उपाध्यक्ष नन्दकिशोर राठीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२४-०८-२७ , समय : ०७:००:५० , ४ महिना अगाडि