बिरुवा गाउँपालिकाका अध्यक्ष फरार

स्याङ्जा । सुर्योदय बचत तथा ऋण सहकारी संस्था बिरुवा सेवा केन्द्रमा बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि बिरुवा गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुँवर फरार भएका छन् । प्रहरीले सहकारीको रकम हिनामिना गरेको तथ्य फेलापारेपछि उनलाई पक्राउ पुर्जी जारी गरेको थियो ।

केसी र वाग्ले पुर्पक्षका लागि जेल चलान, भण्डारी धरौटीमा रिहा

पक्राउ पुर्जी जारी भएको गन्ध थाहा पाएपछि गाउँपालिका अध्यक्ष कुँवर फरार भएका हुन् । कुँवरसँगै पक्राउ पुर्जी जारी गरिएका तारेन्द्र केसी र मुक्तिनाथ विकास बैंक बिरुवा शाखाका कस्टमर सर्भिस बिभागमा कार्यरत कर्मचारी सन्ध्या भण्डारीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा बयानका लागि पेश गरेको थियो ।

सहकारीका प्रवन्धक जीवन वाग्ले अगाडी नै पक्राउ परेका थिए । उनको बयानका आधारमा सुर्यबहादुर कुँवर, तारेन्द्र केसी र सन्ध्या भण्डारीलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको हो । तिनै जनाको बयानका आधारमा जिल्ला अदालतले मुक्तिनाथ विकास बैंकका कर्मचारी भण्डारीलाई १ लाख धरौटीमा छाडिदिएको छ भने केसी र वाग्लेलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । फरार रहेका गाउँपालिका अध्यक्ष कुँवरलाई वारेन्ट जारी गर्दै अदालतमा हाजिर हुन आदेश दिएको छ । बुधवार र बिहिवार भएको अदालतमा लामो बयान पछि थुनछेक बहसमा केसी र वाग्ले जेल चलान हुन पुगेका छन् भने भण्डारीलाई धरौटीमा रिहा गर्न आदेश दिइएको हो ।

जिल्ला सदरमुकाममा रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्था लि. को बिरुवा सेवा केन्द्रमा ३ करोड ६६ लाख रकम अपचलन गरेपछि उनीहरु बिरुद्ध प्रहरीमा जाहेरी परेको थियो । फरार रहेका कुँवर सहकारीका बिरुवा सेवा केन्द्रका तत्कालिन सचिव थिए भने पुर्पक्षका लागि जेल चलान भएका तारेन्द्र बहादुर के.सी. अध्यक्ष थिए । अर्का जेल चलान भएका वाग्ले सहकारीका प्रवन्धकको रुपमा काम गर्दै आएका थिए । धरौटीमा रिहा भएकी सन्ध्या भण्डारी मुक्तिनाथ विकास बैंक बिरुवा शाखाका कस्टमर सर्भिस बिभागमा कार्यरत कर्मचारी हुन् ।

प्रहरी अनुसन्धानमा सहकारीको बिरुवा सेवा केन्द्रका प्रमुख जीवन वाग्लेले २०७४ साल देखी सहकारीमा रकम अपचलन गर्दै आएको खुलेको छ । विना कागजात काोबार गरी रकम अपचलन गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । पार्टीका नेताले पैसा लग्ने, सेवा केन्द्र प्रमुख जीवन वाग्लेले बैकिङ् स्टेटमेन्ट ईडिटिङ् गरेर मिलाउने र मुक्तिनाथ बैंककी कर्मचारी भण्डारी मार्फत स्टेटमेन्ट प्रमाणित गरी सहकारीको रकम अपचलन गर्ने गरेको खुलेको छ ।

पालिकाका अध्यक्ष कुँवर र सहकारी सेवा केन्द्रका अध्यक्ष के.सी. नातेदार समेत रहेको खुलेको छ । सुर्योदय सहकारीको मुख्य कार्यालयका अध्यक्ष हुमबहादुर कुमालले अदालतले बचतकर्ताको रकम र शेयर सदस्यको रकमो बिषयमा न्याय गर्ने आशामा रहेको बताए ।

पछिल्लो समय नेपालमा सहकारी ठगि गर्ने प्रकरण बढ्दो रुपमा रहेको छ । अनुगमन गर्ने निकाय कमजोर हुँदा र सहकारी आफैमा स्वायत्त संस्था भएकाले पनि ठगि गर्ने क्रम बढेको विज्ञहरु बताउछन् । मुलुकमा संघियता लागु भएसगै सहकारी हेर्ने जिम्मेवारी स्थानीय र प्रदेश सरकारलाई संविधानले तोकेको छ ।

कानुन फितलो बनाउने र सहकारी चलाउने नै कानुन बनाउने ठाउँमा पुग्दा सहकारी जोगाउने कानुन बनाउन भन्दा पनि ठगि गर्न सजिलो हुने बनाउने प्रबृत्तिले सहकारीहरु पछिल्लो समय अफठ्यारोमा पर्दै गएका छन् । अनुगमन गर्ने जिम्मा पाएका जनप्रतिनिधिहरु नै सहकारी संचालक÷शेयर सदस्य भएकाले समेत प्रभावकारी अनुगमन हुन सकेको छैन ।

स्याङ्जामा सहकारीहरुको अवस्था निकै नाजुक रहेको तथ्याङ्कले देखाएको छ । तर पनि धेरै बिषय बाहिर आउन नसकेका कारण भित्रभित्रै नाजुक अवस्थामा पनि सहकारीहरु चलाउन बाध्य भएका छन् । हाल सदरमुकाममा रहेको सुर्योदय बचत तथा ऋण सहकारीमा संचालककै लापरवाहीले ठुलो रकम अपचलन भएको छ ।

रकम अपचलन गर्नेहरु हाल पुर्पक्षका लागि जेल चलान भइसकेको अवस्था छ भने एकजना फरार नै रहेका छन् । सहकारी ऐन २०७४ को परिच्छेद १९ को दफा १२२ मा सजाय र कसुर सम्वन्धीको उपदफा (घ) मा समितिको सदस्य, व्वस्थापक वा कर्मचारीले सहकारीको सम्पती, बचत वा शेयर रकम हिनामिना गरेमा कसुर मानिने छ भनेर उल्लेख गरिएको छ ।

सहकारी ऐन विपरीत रकम अपचलन गरेको फेला परेमा सोही ऐनको दफा १२४ को उपदफा (घ) अनुसार विगो भराई बिगो बराबरको जरिवाना र १ करोड रुपैया देखी १० करोड रुपैयासम्म बिगो भए ६ बर्ष देखी ८ बर्ष सम्म कैद सजाय हुने व्यवस्था छ । सुर्योदय सहकारीमा फरार रहेका कुँवर सहित केसी र वाग्ले सहकारीका संचालक र व्यवस्थापक हुन् ।

तिनैजनाले सहकारी ऐन बिपरीत रकम अपचलन गरेको खुलेपछि सहकारी ऐनको १२४ को उपदफा (घ) बमोजिमको कारवाही हुन सक्ने वकिलहरु बताउछन् । अदालतमा समेत हाजिर हुन नआएका फरार कुँवरलाई अझै बढी सजाय हुन सक्ने अनुमान गरिएको छ । फर्जी कागजात बनाई रकम अपचलन गरेको हुनाले यो क्रियाकलाप सहकारी ऐन विपरीत भएको देखिन्छ ।

प्रकाशित मिति: २०२४-०८-२५ , समय : ०६:२६:२२ , ५ महिना अगाडि