स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा बेनिघाट रोराङ गाउँपालिका प्रथम

काठमाडौं । स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को नतिजामा धादिङको बेनिघाट रोराङ गाउँपालिका देशैभरबाट प्रथम हुन सफल भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को नतिजा सार्वजनिक गर्दै उत्कृष्ट स्थानीय निकायलाई सम्मान गर्ने क्रममा देशैभरबाट पहिलो स्थान हासिल गर्न सफल धादिङको बेनीघाट रोराङ गाउँपालिकासहित अन्य दुई गाउँपालिका र तीनवटा नगरपालिकालाई सम्मान गरेको हो ।

सेवाग्राहीलाई उत्कृष्ट सेवा दिने, राम्रो पूर्वाधार निर्माण, सुशासनलगायत विविध असल कामको आधारमा छनोट भई प्रदान गरिने लिजाको नतिजामा यो गाउँपालिका प्रथम भएको छ ।

देशैभरबाट उत्कृष्ट छनोट भएका नगरपालिकामध्ये धादिङ जिल्लाकै नीलकण्ठ नगरपालिका पहिलो भएको छ । मन्त्रालयमा आयोजित ‘स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकनको नतिजा सार्वजनीकरण तथा सम्मान’ कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदीले देशभरका ४ सय ६० गाउँपालिकातर्फबाट उत्कृष्ट पहिलोमा छनोट हुन सफल बेनिघाट रोलाङ गाउँपालिका, देशभरका नगरपालिकाको तर्फबाट उत्कृष्ट पहिलो हुने नीलकण्ठ नगरपालिकासहितका स्थानीय निकायहरूलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय सुधारमा अग्रसर गराउने उद्देश्यले अभ्यासमा ल्याइएको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनको आर्थिक वर्ष २०७९-८० को मूल्यांकनमा ८७ दशमलव २५ अंकसहित देशभरका गाउँपालिकामध्ये प्रथम स्थान हासिल गर्न सफल बेनीघाट रोराङ गाउँपालिकालाई प्रशंसापत्रसहित सम्मान प्रदान गरिएको हो ।

सिंहदरबारस्थित मन्त्रालयमा आयोजित सम्मान कार्यक्रममा बेनीघाट रोलाङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक), प्रमुख प्रशासकीय अधिकृत नर्वदा घिमिरे, वरिष्ठ लेखा अधिकृत सन्तोष अर्याल र इन्जिनियर प्रकाश सिलवाल सहभागी भएका थिए । उनीहरूले सो सम्मानपत्र सामूहिक रूपमा ग्रहण गरेका हुन् ।

उत्कृष्ट पहिलो हुने नीलकण्ठ नगरपालिकासँगै मन्त्रालयको वेभसाइटमा ९९ दशमलव ७५ अंक सूचीकृत देशभरमा दोस्रो नम्बरमा देखिएको बेनीघाट रोराङ गाउँपालिका विज्ञहरूको मूल्यांकनपछि ८७ दशमलव २५ अंक प्राप्त गरी देशभरका गाउँपालिका तर्फबाट प्रथम भएको हो । यसैगरी, स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभसाइटमा ९७ अंक सूचीकृत धादिङको नीलकण्ठ नगरपालिका विज्ञहरूको मूल्यांकनका आधारमा ९२ दशमलव ५० अंकसहित नगरपालिकातर्फ देशभरबाट उत्कृष्ट प्रथम हुन सफल भएको हो ।

मन्त्रालयले प्रदान गरेको प्रसंसापत्रसहितको सम्मान कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीलगायत सहभागी थिए ।

प्रकाशित मिति: २०२४-०८-२३ , समय : ०७:४२:०४ , ४ महिना अगाडि