राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आसन्न स्थानीय तहको उपचुनावमा भाग लिने भएको छ। पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले स्थानीय तहको आसन्न उपनिर्वाचन लक्षित पार्टी गतिविधिलाई तीब्रता दिने निर्णय गरेको छ। रास्वपा स्थानीय तह २०७९ को निर्वाचनपछि स्थापना भएको हो।
त्यहि बर्ष भएको केन्द्रीय निर्वाचन बाहेक रास्वपाले प्रदेश र स्थानीय तहमा चुनाव लडेको थिएन। रास्वपा प्रतिनिधिसभामा बाहेक अन्य दुई तहको संरचनामा प्रतिनिधिविहीन छ। निर्वाचन आयोगले मंसिरको दोस्रो हप्तातिर उपनिर्वाचन गर्दा ठिक हुने प्रस्ताव सरकारसमक्ष गरेको छ। आयोगले उपनिर्वाचनलाई ध्यानमा राखेर उमेर पुगेका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउन साउन २९ गते सूचना जारी गर्दै सार्वजनिक आह्वान गरिसकेको छ ।
आयोगका अनुसार ३५ स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ। यस्तै रास्वपाले पार्टीको पहिलो राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंमा आयोजना गर्ने पनि जनाएको छ। केन्द्रीय समितिले विधानको धारा ९५(३) अनुसार धारा २३ ले परिकल्पना गरेको केन्द्रीय परिषद् गठन गर्ने र राष्ट्रिय भेलामा परिषद्का साथै पालिका र निर्वाचन क्षेत्र समितिका प्रतिनिधि एवम् प्रदेश समिति, प्रदेश विभाग, गत संसदीय निर्वाचनका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरु सहभागी हुने गरी प्रतिनिधि तोक्ने रास्वपाको आजको बैठकले निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।
प्रकाशित मिति: २०२४-०८-२१ , समय : १८:४९:०३ , ४ महिना अगाडि