धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै स्थानीयहरुले सामुहिक आमरण अनशन शुरु गरेका छन् ।कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको अगुवाईमा आन्दोलित स्थानीयहरु जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडी आमरण अनशन बसेका हुन् ।
गत साता मात्रै मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई नयाँ पुल निर्माणका लागि प्रक्रिया अगाडी बढाउने गरी ७ दिने अल्टिमेटमसहित उनीहरुले ज्ञापन पत्र बुझाएका थिए । तर मुख्यमन्त्रीले आफूहरुको मागप्रति बेवास्ता गरेपछि आमरण अनसनमा बसेको संघर्ष समितिका संयोजक प्रविण यादवले जानकारी दिए ।
आफू पनि अनसनमा बसेको बताए । उनिसँगै १० जना युवा आमरण अनसनमा बसेका हुन् । सिरहाको औरही वडा नम्बर ४ का वडाध्यक्ष सुरेन्द्रकुमार यादव, सिरहा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष समशाद आलम, सिरहा ६ का वडाध्यक्ष इन्द्रजति यादव, सिरहा ८ का वडा सदस्य रुपेश यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, शैलेशकुमार गोइत, मनिष यादव र शिवशंकर यादव आमरण अनशनमा बसेका छन् ।
उनले भने ‘मुख्यमन्त्रीलाई गत साता नयाँ पुल निर्माणका लागि संघ सरकारसँग पहल गर्न भनेका थियौँ, तर त्यहाँबाट एक फोन कलसम्म नआएको र प्रदेश सरकारले कुनै गम्भिरता देखाएको छैन ।’
प्रकाशित मिति: २०२४-०८-२० , समय : १९:५५:०८ , ५ महिना अगाडि