काठमाडौं । अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।
गायन, नृत्य तथा कमेडीका शोहरु मात्र दर्शकहरुले हेर्न पाइरहेको बेला अभिनय विधाको शो ‘एक्टिङ स्टार’ले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिने विश्वास गरिएको छ । अभिनय कला प्रस्फुटन गर्न तथा सच्चा कलाकारको खोजी गर्न यो शो ल्याउन लागेको आयोजक संस्था महक मिडिया नेटवर्क प्रालिले जानकारी दिएको छ ।
‘सबैमा प्रतिभा हुन्छ तर, प्लेटफर्म नभएर कुण्ठित हुन नपरोस् र मनोरञ्जनको क्षेत्रमा नयाँ कदम चाल्न ‘एक्टिङ स्टार’ले सहयोग गरोस् भन्ने हाम्रो उद्देश्य हो ।’ आयोजक टिमका एक प्रतिनिधिले भने । उनले यो शोको डिजिटल अडिसन खुल्ला गरेको २ दिनमै दर्जनौं भिडियोहरु प्राप्त हुँदा हौसला मिलेको भन्दै दर्शकहरुलाई नयाँ स्वादको प्रतिक्षा भएको पुष्टि गरे ।
‘एक्टिङ स्टार’मा डिजिटल अडिसन दिनका लागि आफ्नो अभिनय कला प्रस्तुतिको अधिकतम २ मिनेटसम्मको भिडियो रेकर्ड गरेर आगामी ३१ भदौसम्म Whatsapp तथा Viber नम्बर ९७६७९८३३१० मा पठाउनु पर्नेछ । अथवा, [email protected] मा पनि पठाउन सक्नेछ ।
कार्यक्रमलाई ‘महक मिडिया नेटवर्क प्रालिले निर्माण गर्दैछ भने निर्देशक तथा अन्य महत्वपूर्ण जानकारी पत्रकार सम्मेलन मार्फत दिइने आयोजक कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०८-२० , समय : १७:५६:४९ , ४ महिना अगाडि