जनताको गुनासो सुन्न कोशी सरकारले सुरू गर्याे हेल्लो सिएम

टोल फ्रि नम्बर १६६०२१५२००२ मा फोन गर्न सकिने छ

फाइल तस्बिर ।

विराटनगर । कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नका लागि हेल्लो सिएम सुरु गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हेल्लो सिएम सेवाको सुरुवात गर्नुभएको हो । गुनासो व्यवस्थापनको लागि भिन्दै कक्ष राखि २४सै घण्टा जनताको गुनासो सुन्न सकिने गरी व्यवस्थापन गरी यो सुरुवात गरिएको छ ।

प्रदेश सुशासन ऐन २०७६ अनुसार यो हेल्लो सिएम सुरु गरिएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो सुरुवातले सासकीय सुधारमा सहयोग पुग्ने बताउनुभयो । उहाँले सरकारका विभिन्न सेवा र निकायका काम कारबाहीलाई प्रभावकारी बनाउन हेल्लो सिएम महत्वपूर्ण हुने बताउनुभयो ।

सुशासनबाट नै जनतालाई राहत दिन सकिने भएकाले यसलाई प्रभावकारी सञ्चालन गर्न कर्मचारीलाई मुख्यमन्त्री कार्कीले निर्देशन दिनुभयो । जनताको जीउधन र विपद्सँग जोडिएका आपत्कालिन काममा पनि यो प्रभावकारी हुने विश्वास मुख्यमन्त्री कार्कीले व्यक्त गर्नुभयो ।

प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले अहिलेको सरकार निर्माण भएपछि सासकीय सुधारमा उल्लेख्य प्रगति भएको चर्चा गर्दै यो सेवाले थप सुशासन वृद्धि हुने बताउनुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भिन्दै कक्ष निर्माण गरी कर्मचारीको समेत व्यवस्थापन गरेर हेल्लो सिएम सञ्चालनमा ल्याइएको हो । कोशी प्रदेश सरकारसँग भएका गुनासा वा अन्य सहयोगका लागि टोल फ्रि नम्बर १६६०२१५२००२ मा फोन गर्न सकिने छ ।

प्रकाशित मिति: २०२४-०८-१५ , समय : २०:५२:५८ , ५ महिना अगाडि