विकासको लहर ल्याउने गरी व्यवस्थित र ठोस योजना ल्याउनुस् : प्रधानमन्त्री

फाइल तस्बिर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देश गरेका छन् । नेपाल सरकारका मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य कामबारे आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्दै उनले देश र जनताका लागि गर्नपर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र कङ्क्रिट तयारी गर्न निर्देशन दिए ।

उनले बजेट कम भएको स्थितिमा सुशासन कायमसहित फटाफट काम गरेर शतप्रतिशत विकास खर्च गर्ने हो भने अर्थतन्त्र चलायमान हुने स्पष्ट गरे । ‘हामी जागिर खाइरहेका छैनौँ । हामी देश र जनताको सेवा र विकासका लागि काम गरिरहेका छौँ । भावी सन्ततिका लागि काम गरिरहेका छौँ । यो सेवा हाम्रो तलवसँग तुलना हुन सक्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो लक्ष्य निर्धारण गराई काल्पनिक नहोस्, वस्तुगत होस् । पूरा गर्न कठिन हुन्छ भनेर लक्ष्यहरू नै कमजोर राखिनु हुन्न । हामीले कठिन मिहिनेतका साथ काम गरेर हरेक कुरामा लक्ष्यमा पुग्नुपर्छ । अबका तीन महिनामा इतिहासका अरु कुनै तीन महिनाभन्दा बढी मेहनत गरेर काम गरौँ । धेरै काम गर्दा समस्या आउँला वा अख्तियारमा बयान दिनुपर्ला भनेर नडराऔँ । गल्ती वा भ्रष्टाचार गरिएन भने कुनै समस्या आउँदैन ।’

प्रधानमन्त्री ओलीले डिजिटल नेपालको फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन, व्यावसायिक तालिम, विषादी र मिसावटरहित खाद्य पदार्थको आपूर्ति गराउन, उपकरण र स्रोत साधनको पूर्ण उपयोग गर्नमा पनि ध्यान दिए । उनले एउटा मन्त्रालयबाट अर्काे मन्त्रालयमा कामका लागि गएको फाइलमा बढीमा तीन दिनभित्र काम गर्न, सूचना र प्रविधिलाई प्राथमिकता दिन, श्रमिक निर्यातभन्दा पनि उद्यमशीलता र रोजगारी सिर्जनामा लाग्न, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई जनता रोजगार कार्यक्रममा रुपान्तरण गर्न, मातृशिशु स्वास्थ्यमा सुनौला हजार दिनको मान्यतालाई ध्यान दिन, समग्रमा मान्छेको आम्दानीको बाटो बढाउन सम्बन्धित मन्त्री र सचिवलाई ध्यानाकर्षण गराए ।

प्रधानमन्त्रीको आजको सिंहदरबारको सम्बोधनका थप निर्देशन :

१. युवा र खेलप्रेमीलाई उत्साह दिन कीर्तिपुर रंगशाला स्तरोन्नतिका लागि सम्पूर्ण समय दिएर काम गर्नुस् ।

२. पुँजीगत खर्च शत प्रतिशत गर्नुस् । बेरुजु नहुने गरी काम गर्नुस् । हामीले नगरे कसले गर्ने ?

३.दशाैँ राष्ट्रिय खेलकुदलाई भव्य र प्रभावकारी बनाउनका लागि के के गर्नुपर्नेछ आवश्यक प्रस्ताव ल्याउनुस् ।

४. खाद्यान्नमा आत्मनिर्भर हुने र बजारमा स्वस्थ्य खाना उपलब्ध हुने वातावरण बनाउनुस् ।

५. कृषि उपजलाई निर्यात गर्न सक्ने आधार तय गर्नुस् । कानुन मात्रै धेरै बनाइयो भनेर हुन्न । गरिबलाई कानुन मात्रै दिएर के काम ? कानुन खान दिदैन । त्यसैले विकासको लक्ष्यलाई केन्द्रमा राख्नुस्, साधनलाई होइन ।

६. प्रधानमन्त्रीसँग रोजगार जस्ता ठुला पदका नामबाट कार्यक्रम नराख्ने । कहाँ निर्णय गरेर हुन्छ परिवर्तन गर्ने । जनतासँग रोजगार जस्ता नाम राख्ने । केन्द्रको सिको गरेर मुख्यमन्त्रीसँग फलानो कार्यक्रम भनेर आएका छन्, त्यो उपयुक्त होइन । नयाँपन पनि भएन ।

प्रकाशित मिति: २०२४-०८-१५ , समय : २०:४१:४३ , ४ महिना अगाडि