सरकारले मंगलबार र बुधबार भारी वर्षा हुनसक्ने भन्दै विभिन्न जिल्लामा रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो। पछिल्ला केही दिन मनसुन फेरि सक्रिय हुन थालेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले पाँच प्रदेशका विभिन्न जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेसँगै ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ्ग, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ्ग र गोरखामा रात्रि बस सञ्चालन गर्न रोक लगाइएको हो।
त्यसैगरी कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीमा पनि रात्रि बस सञ्चालनमा रोक लगाइएको छ।
रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आँकलन गर्न कठिन हुने भएकोले सम्भावित क्षति रोक्न उच्च जोखिम भएका जिल्लामा रात्रीकालीन बस नचलाउने निर्णय भएको हो।
यस्तै विपद्को जोखिममा रहेका मानिसहरुलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्ने, जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद् सम्बन्धी काम गर्ने साझेदार संस्थाहरुले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहने जस्ता निर्णय पनि प्राधिकरणले गरेको छ। त्यस्तै, जरुरी अवस्थामा बाहेक यात्रा नगर्न पनि प्राधिकरणले आग्रह गरेको छ।
प्रकाशित मिति: २०२४-०८-०६ , समय : १८:१५:४४ , ५ महिना अगाडि