पेरिस ओलम्पिकमा अमेरिकी स्प्रिन्ट स्टार नोहा लाइल्सले जमैकाका किशन थोम्पसनलाई ०.००५ सेकेन्डले पछि पार्दै ओलम्पिक स्वर्ण हात पारेका छन्। पेरिसमा बहुप्रतीक्षित सय मिटर दौडमा ‘फोटो फिनिस’ गर्दै नोहाले स्वर्ण चुमेका हुन्।
लाइल्सले उक्त दुरी ९.७८४ सेकेन्डमा पुरा गर्दै व्यक्तिगत कीर्तिमान समेत बनाए। ओलम्पिकमा डेब्यु गरेका थोम्सनले अधिकांश समय अग्रता बनाएपनि लाइल्सले शानदार प्रदर्शन गर्दै खेलमा सम्भावित चार स्वर्ण जित्ने आफ्नो लक्ष्यलाई बलियो बनाएका छन्। थोम्पसन ९.७८९ सेकेन्डको समय निकाल्दै रजत पदकमा चित बुझाउन बाध्य भए।
अमेरिकाका पूर्व विश्व च्याम्पियन फ्रेड केर्लीले ९.८१ सेकेन्डको समय निकाल्दै कास्यपदक हात पारेका थिए। स्टेड डी फ्रान्समा हजारौं समर्थकमाझ नाटकीय सांगीतिक पृष्ठभूमिबीच सबै ८ फाइनलिस्ट ०.१२ सेकेन्डको समयभित्र दुरी पुरा गरेका थिए। अब २ सय मिटरको प्रतीक्षा बाँकी रहेको छ।
प्रकाशित मिति: २०२४-०८-०५ , समय : ०९:१६:४५ , ५ महिना अगाडि