तराईमा हुने आपराधिक गतिविधिमा राजनीतिक दलहरू आफै संलग्न छन्ः रघुजी पन्त

सत्तारूढ नेकपा (एमाले) का सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले तराईमा हुने आपराधिक घटनामा राजनीतिक पार्टीका मानिसहरू आफै संलग्न रहेको आरोप लगाएका छन्।

बुधबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सो जिकिर गरेका हुन्।

तराईका राजनीतिज्ञहरूले कुनै न कुनै रूपमा त्यहाँ हुने आपराधिक गतिविधिमा सम्बन्ध राखेका कारण त्यहाँको अपराध नियन्त्रण गर्न प्रहरीले नसकेको सांसद पन्तको जिकिर थियो।

उनले सबै राजनीतिक दलका मानिसहरूको तराईमा आपराधिक गतिविधिमा सम्बन्ध भएकाले त्यहाँको अपराध नियन्त्रण गर्नका लागि सरकारले सो विषयमा विशेष ध्यान दिनुपर्ने बताए।

सांसद पन्तले खुला सीमानाको नियमनका कडाइ गर्नसके पनि नेपालको तराई क्षेत्रमा हुने आपराधिक गतिविधिमा आधा न्यूनीकरण गर्न सकिने दाबी गरे।

उनले भने, ‘हाम्रो तराईतिरको असुरक्षाका मूल कारण भनेको खुला सिमाना हो। त्यसकारण मेरो भनाइ के हो भने तराईको अपराधलाई नियन्त्रण गर्ने हो भने खुला सिमानालाई नियमन गर्न सुरू गरौं। र त्यसलाई बिस्तारै अरू अन्तर्राष्ट्रिय सिमानाजस्तै तहमा पुर्‍यायौं भने तराईमा देखिएको आधा अपराधको घटना नियन्त्रण हुन्छ। अब यो त प्रहरीको कन्ट्रोलमा छैन। दुई देश बीचको सम्बन्ध पनि हो। खुला सिमाना त प्रहरीले नियन्त्रण गर्न सक्दैन। तर हामीले बिर्सन नहुने कुरा के हो भने उतापट्टि चाहिँ उनीहरूले चाहेको बेला सिमाना टाइट गरिदिन सक्छन्।’

उनले अगाडि भने, ‘यता हामीले भने चाहेको बेला गर्न सकिराखेका छैनौं। त्यसकारण यसमा के ध्यान दिइयोस् भन्दाखेरी दीर्घकालीन रूपमा यो खुला सिमानालाई नियमन गर्नैपर्छ। तर त्योभन्दा अगाडि तराईका पोलिटिसियनहरू कुनै न कुनै त्यहाँ हुने नकारात्मक गतिविधिसँग हामी सम्बन्ध पाउँछौं। यो दल, त्यो दल नभन्नुस्। तराईको यो सिरियस समस्या पनि छ। यो कुरामा सरकारले कडाइ गर्न सक्यो भने राम्रो हुन्छ। जब अपराधका घटनामा पोलिटिकल मान्छेहरू इन्भल्भ भएपछि पुलिसलाई गाली गरेर रोकिन्न।’

सांसद पन्तले सुरक्षाकर्मीहरूलाई अत्यावश्यक वस्तुको अभाव हुन नदिन पनि सरकारलाई सचेत गराए।—न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: २०२४-०७-३१ , समय : १८:४४:२३ , ५ महिना अगाडि