प्रचण्ड देश दौडाहामा निस्कने, स्थायी कमिटी डाकियो

९ वर्षपछि एकाएक प्रतिपक्षीय भूमिकामा पुगेको माओवादी केन्द्र संगठन विस्तार र शुद्धीकरण अभियानमा केन्द्रित हुने भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा चार दिनसम्म चलेको पदाधिकारी बैठकले जनतातिर फर्किएर पार्टी निर्माणमा लाग्ने निर्णय गरेको हो । माओवादीले सडकबाट जनताका मुद्दा उठाउने र सदनमा सशक्त प्रतिपक्षको भूमिका खेल्ने तयारी गरेको छ ।

दुई ठूला दल मिलेर सरकार बनाएपछि सत्ता बहिर्गमनमा परेको माओवादीले भावी योजना र रणनीति बनाउन स्थायी समिति बैठक पनि बोलाएको छ । साउन २५ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय पदाधिकारी बैठकले गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

शुक्रबारबाट शुरु भएको पदाधिकारी बैठकको आज समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनताको सुखदुःख बुझ्न आफू देशैभर जाने बताउनुभएको थियो । त्यसपछि विचारको संश्लेषण गर्ने र नयाँ ढंगको पार्टी निर्माण गर्ने अध्यक्षको भनाई सापकोटाले सुनाए । उनका अनुसार केन्द्रीय समिति बैठकपछि प्रचण्ड देशभर जानुहुनेछ ।

प्रकाशित मिति: २०२४-०७-३० , समय : १७:४०:२० , ५ महिना अगाडि