नितिश तिवारीको निर्देशन रहने बलिउड फिल्म ‘रामायण’मा नायक रणवीर कपुर ‘राम’को भूमिकामा देखिँदै छन् । सो पात्रको निर्वाह गर्न हिन्दू धर्मसँग सम्बन्धित किताबहरू पढ्दै गरेको उनले बताए ।
भर्खरै निखिल कमातसँगको अन्तर्वार्तामा उनले किताबहरू पढ्दै जाँदा धर्मप्रति झन् विश्वास बढेको बताएका हुन् ।
उनले आफ्नो बुबा पनि धर्ममा विश्वास राख्ने बताउँदै भने, ‘मैले सनातन धर्ममा धेरै विश्वास गर्न थालेको छु । गहिराइमा बुझ्दै जाँदा थाहा पाएँ कि यो के हो भनेर ।’
यद्यपि भगवानप्रति विश्वास बाल्यकालदेखि नै रहेको उनले सेयर गरेका छन् । आफू सानो हुँदा बुवा (ऋषि कपुर)ले दैनिक पूजा गर्ने हुँदा भगवानप्रति विश्वास बढेको उनी स्मरण गर्छन् । भन्छन्, ‘आमा–बुबालाई सन्तानले पछ्याउँछन् । सोहीकारण ममा पनि भगवानप्रति राम्रो भावना विकास भयो ।’
सो अन्तर्वार्तामा उनले धार्मिक आस्थासँग जोडिएको केही किस्साहरू पनि सेयर गरेका छन् । बाल्यकालमा नै ‘भगवानलाई पुकारेर मागेको कुरा पूरा हुने शक्ति’ आफूमा बलियो रहेको महसुस भएको उनको भनाइ छ ।
उनी भन्छन्, ‘मैले भगवानसँग जे माग्थेँ, त्यो सहज पूरा हुन्थ्यो । तर मैले सानै उमेरमा भगवानसँग माग्न छोडेँ ।’
बुबा भन्दा आमा (नितु कपुर) धर्मप्रति कम विश्वास राख्ने र कमै मात्र धार्मिक कर्ममा लाग्ने समेत उनले बताए ।
प्रकाशित मिति: २०२४-०७-२९ , समय : ०९:०४:५१ , ५ महिना अगाडि