निराशा र मन्दिलाई कम गर्न लागेका छाैं : मुख्यमन्त्री कार्की

विराटनगर ४ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्योग व्यापार व्यवसायको क्षेत्रमा देखिएको मन्दि र निराशालाई चिरेर सरकार अगाडि बढ्ने बताउनुभएको छ।

शुक्रबार विराटनगरमा माहेश्वरी महिला मञ्चले आयोजना गरेको श्रावण मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सरकार अव नयाँ परिस्थिति अनुसार अगाडि बढेकाले निराशा र मन्दिलाई कम गर्ने बताउनुभयो । उहाँले संघ र प्रदेशमा नयाँ परिस्थिति अनुसार सरकारको स्थायित्व दिनेगरी राजनिती अगाडि बढेकाले अव आम व्यवसायि र नागरिकमा उत्साह आउने विश्वाश व्यक्त गर्नुभयो ।

विराटनगर आर्थिक क्षेत्रका लागि महत्वपूर्ण भएपनी उसले आफ्नो क्षमता अनुसार काम गर्न नसकेको र विराटनगरले आर्थिक क्षत्रलाई अगाडि बढाउपर्नेगरी काम गर्न उहाँले आग्रह गर्नुभयो ।हाम्रा समाजिक सोच र चिन्तनले महिलाहरुलाई पछाडि पारिएको चर्चा गर्दै महिलाहरुलाई अवसर दिएमा पुरुषभन्दा राम्रो काम गर्न सक्ने उहाँले बताउनुभयो।

समाजमा महिलाहरुले गरेका काम उदाहरणीय रहेको बताउदै माहेश्वरी महिलाहरुले पनि समाज परिवर्तन र व्यवसायिक क्षेत्रमा राम्रो काम गरेकोमा प्रशंसा गर्नुभयो ।

कार्यक्रममा मञ्चकी अध्यक्ष ललिता जाजुले महिलालाई आत्मनिर्भर बनाउन र समाज सेवामा लाग्नका लागि संस्थाले प्रेरणा दिने गरेको बताउनुभयो । उहाँले व्यवसायिक क्षेत्रमा समेत महिलाले उदाहरणीय काम गरेको जानकारी दिनुभयो । दुई दिनसम्म संचालन हुने मेलामा महिलाहरुका विभिन्न स्टलहरु राखिएका छन् । गरगहनादेखि कपडा एवं सजाव‍टका सामाग्री रहेका स्टलहरु मेलामा छन्।

प्रकाशित मिति: २०२४-०७-१९ , समय : १९:२१:२२ , ५ महिना अगाडि