राष्ट्रिय सूचना आयोगले तीन महिने कार्य विवरण सार्वजनिक गरेको छ । आज विज्ञप्ति जारी गर्दै आयोगले पछिल्लो तीन महिना (बैशाख, जेठ र असार) सम्पादन भएका मुख्य कामको विवरण सार्वजनिक गरेको हो ।
जसमा विभागमा दर्ता पुनरावेदनउपर भएका कारवाही, जोखिम न्यूनीकरणका लागि गरेका प्रचारात्मक काम, सूचनामा हक सम्बन्धी तालिमलगायतका विषय समेटिएको छ । आयोगका अनुसार ५२६ वटा पुनरावेदन दर्ता भएकोमा ३४१ वटा उपर लिखित जवाफ पेश गर्न आदेश भएको छ । त्यस्तै, ५९९ वटा पुनरावेदनउपर ‘सूचना उपलब्ध गराउनू’ भन्ने आदेश भयो ।
सार्वजनिक निकायहरुमा इमेल, हुलाक आदिबाट सूचना माग भएका निवेदकलाई दर्ता नम्बर उपलब्ध गराउन मुख्यसचिवमार्फत केन्द्रीयस्तरका मन्त्रालय, प्रमुख सचिवमार्फत सबै प्रदेश सरकार र स्थानीय तहको नाममा आदेश दिएको आयोगको भनाइ छ ।
मनसुनको समयमा हुने जनधनको क्षति न्यूनिकरणका निम्ति विपद्को तयारीसम्बन्धी प्रचारप्रसार गर्न गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको नाममा आदेश जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
आयोगका अनुसार असार २९ गते सप्तरीको सप्तकोशी नगरपालिकामा सूचनाको हकसम्बन्धी अभिमुखीकरण कार्यक्रम, असार २० गते मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा महिला सशक्तीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसैगरी, विभिन्न जिल्लामा सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको आयोगले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०७-१९ , समय : १८:५४:०० , ५ महिना अगाडि